रमेश प्रसाईँको कडा प्रश्न: जेनजी आन्दोलनका अभियुक्तविरुद्ध मुद्दा किन अड्कियो?


रमेश प्रसाईँको कडा प्रश्न: जेनजी आन्दोलनका अभियुक्तविरुद्ध मुद्दा किन अड्कियो?
  • नवकिरण
  • बैशाख २९, २०८३

काठमाडौं, वैशाख २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दा दायर गर्न ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध अझैसम्म अदालतमा मुद्दा नपुगेकोप्रति प्रश्न उठाए। उनले यो विषयलाई केवल औपचारिक श्रद्धाञ्जली र भाषणमा सीमित राख्न नहुने धारणा राखे।

उनका अनुसार जेनजी आन्दोलनका शहीदहरूप्रति सम्मान व्यक्त गर्ने मात्र होइन, घटनाको न्यायिक प्रक्रिया अघि बढ्नुपर्ने आवश्यकता छ। “जेनजी आन्दोलनका अभियुक्त भनिएका तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकारलाई के ले रोकेको हो? प्रमाणको अभाव हो कि प्राथमिकताको कमी?” भन्दै उनले प्रश्न गरे।

सांसद प्रसाईँले विगतका आयोगहरूको प्रतिवेदन कार्यान्वयन नभएको उदाहरण दिँदै मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू अलपत्र परेको उल्लेख गरे।

उनले विगतका आन्दोलनका पीडितहरूलाई न्याय नदिएको इतिहास दोहोरिन नहुने भन्दै यदि अहिले पनि उस्तै अवस्था रह्यो भने जनतामा निराशा बढ्ने चेतावनीसमेत दिए।