काठमाडौं, वैशाख ३० -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते महाधिवेशन आयोजना गर्ने मिति तय गरेको हो ।
पार्टीका नेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । यसअघि सभापति रवि लामिछानेले असार ६ देखि ८ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । तर बैठकले मिति परिमार्जन गर्दै असार ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
महाधिवेशनको तयारी, संगठन विस्तार तथा अन्य समसामयिक विषयमा छलफल गर्न बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा र आन्तरिक व्यवस्थापनका विषयमा पनि छलफल भएको जनाइएको छ ।
रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय यसअघि नै गरेको थियो । सोही निर्णयअनुसार पार्टीले निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्न तयारी तीव्र बनाएको हो ।
२०७९ सालमा स्थापना भएको रास्वपाले पहिलो महाधिवेशनमार्फत पार्टी नेतृत्व, संगठन संरचना र भावी रणनीतिलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।
