काठमाडौं, वैशाख ३० – प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध विपक्षी दलहरूले चर्को विरोध जनाएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएपछि संसद्मै उनको राजीनामाको माग उठेको हो ।
बुधबारको बैठकमा प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख डीपी अर्यालले प्रस्ताव पेस गर्न अनुमति दिएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयलाई गैरजिम्मेवार व्यवहारको संज्ञा दिएका छन् । उनले जनतासँग प्रत्यक्ष जोडिएको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नै अनुपस्थित हुनु गम्भीर विषय भएको बताए ।
प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अवस्थामा अर्थमन्त्रीमार्फत प्रक्रिया अघि बढाइएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका थिए । त्यसक्रममा संसद् बैठक केही समय अवरुद्धजस्तै बनेको थियो ।
सदनमा प्रधानमन्त्रीको राजीनामाको माग चर्किंदै जाँदा सत्ता र विपक्षबीच आरोप–प्रत्यारोपसमेत भएको थियो । विरोधका बीच संसद्को वातावरण तनावपूर्ण बनेको देखिएको थियो ।
