उचित पारिश्रमिकको माग गर्दै शहीद मेमोरियलका स्वास्थ्यकर्मी आन्दोलनमा


उचित पारिश्रमिकको माग गर्दै शहीद मेमोरियलका स्वास्थ्यकर्मी आन्दोलनमा
  • नवकिरण
  • जेष्ठ १, २०८३

काठमाडौं, जेठ १ – कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरूले न्यून पारिश्रमिकको विरोध गर्दै आन्दोलन थालेका छन् । शुक्रबारदेखि उनीहरूले आकस्मिक सेवा बाहेकका अधिकांश सेवा बहिष्कार गर्दै अस्पताल परिसरमा धर्ना सुरु गरेका हुन् ।

स्वास्थ्यकर्मीहरूको भनाइअनुसार सरकारले निजी अस्पतालमा कार्यरत पाँचौँ तहका स्वास्थ्यकर्मीका लागि मासिक ३४ हजार ७ सय ३० रुपैयाँ न्यूनतम तलब तोकेको भए पनि अस्पताल प्रशासनले उक्त व्यवस्था कार्यान्वयन गरेको छैन । हाल आफूहरूले मासिक १९ हजार ३ सय ९६ रुपैयाँ मात्र पाउने गरेको उनीहरूको गुनासो छ ।

नर्स, हेल्थ असिस्टेन्टलगायतका स्वास्थ्यकर्मीहरूले आफूहरू श्रम शोषणमा परेको बताएका छन् । उनीहरूले ‘उचित पारिश्रमिक लागू गर’, ‘स्वास्थ्यकर्मीमाथि श्रम शोषण बन्द गर’ लगायतका नारासहित प्रदर्शन गरिरहेका छन् ।

अस्पतालमा कार्यरत करिब ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा सहभागी भएका छन् । उनीहरूले बिहीबार नै माग पूरा नभएसम्म नियमित ड्युटी गर्न नसक्ने जानकारीसहित अस्पताल प्रशासनलाई पत्र बुझाएका थिए ।

स्वास्थ्यकर्मीहरूले सरकारले निजी अस्पतालहरूमा तोकिएको पारिश्रमिक कार्यान्वयन भए/नभएको विषयमा अनुगमन गर्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म कुनै टोली अस्पतालमा नपुगेको बताएका छन् ।

उनीहरूले रातदिन बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि अन्याय भइरहेको आरोप लगाउँदै तत्काल सरकारी निकायले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।