सुर्खेत, जेठ ३ – नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै सडक र सदन दुवैबाट प्रतिवाद गर्ने बताएका छन् ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका कामकारबाहीप्रति गम्भीर प्रश्न उठेको भन्दै अहिलेको अवस्थामा समर्थन गर्न नसकिने बताए । संविधान संशोधन बहसपत्र तयारी, अध्यादेशमार्फत शासन सञ्चालन र ट्रेड युनियन खारेजीजस्ता गतिविधिले सरकारको नियतमाथि शंका पैदा गरेको उनको भनाइ थियो ।
प्रचण्डले सरकार लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर जान खोजिरहेको आरोप समेत लगाए । संसद् चलिरहेको अवस्थामा नियमित विधेयकको बाटो छाडेर अध्यादेश ल्याउनु उचित नभएको उल्लेख गर्दै उनले यसलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदमको संज्ञा दिए ।
‘सरकारका पछिल्ला गतिविधिलाई समर्थन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘जनताको आवाज दबाउने प्रयास भए त्यसको प्रतिवाद सडक र सदन दुवैबाट हुन्छ ।’
उनले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक परिमार्जनका विषयमा भने आफूहरू सकारात्मक रहेको बताए । सरकारले जनपक्षीय र सही काम गरे रचनात्मक सहयोग गर्न तयार भए पनि पछिल्ला गतिविधिले निराश बनाएको उनको टिप्पणी थियो ।
प्रचण्डले सुकुमवासी समस्या समाधानमा सरकार गम्भीर नदेखिएको पनि बताए । समयमै समस्या समाधान नगरे यसले थप जटिल अवस्था सिर्जना गर्न सक्ने चेतावनी उनले दिए ।
संविधान संशोधनका लागि सरकारले तयार पारेको बहसपत्र पनि पारदर्शी ढंगले अगाडि नआएको भन्दै उनले त्यसबारे थप स्पष्टता आवश्यक रहेको बताए ।
फरक प्रसंगमा उनले वाम एकताबारे पनि विभिन्न दलबीच छलफल भइरहेको जानकारी दिए । नेपालमा वामपन्थी शक्तिको ठूलो जनमत रहेको उल्लेख गर्दै त्यसलाई एकीकृत गर्न सकिने आधार अझै कायम रहेको उनको भनाइ थियो ।
