काठमाडौं, जेठ ३ – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्व चर्चित कान्स फिल्म फेस्टिभल मा सहभागी हुन आज फ्रान्स जाने भएकी छन्। महानगर स्रोतका अनुसार उनी फेस्टिभलमा सहभागी भई अन्तर्राष्ट्रिय फिल्म महोत्सव सञ्चालनसम्बन्धी अनुभव हासिल गर्नेछिन्।
महानगरका प्रवक्ता नवीन मानन्धर ले डंगोल चार दिनसम्म कान्समा रहने जानकारी दिएका छन्। उनले फेस्टिभलका विभिन्न गतिविधि अवलोकन गर्नुका साथै आयोजकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताएका छन्।
डंगोलले कान्स फिल्म फेस्टिभलका प्रतिनिधिलाई काठमाडौं भ्रमणको निम्तो दिने तयारी समेत गरेकी छन्। महानगरले आगामी दिनमा आयोजना गर्ने लक्ष्य राखेको काठमाडौं फिल्म फेस्टिभलका लागि अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदानप्रदानमा यो भ्रमण उपयोगी हुने विश्वास गरिएको छ।
काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थान तथा समुदायस्तरमा फिल्म महोत्सव सञ्चालन गर्ने अवधारणासहित तयारी अगाडि बढाइरहेको जनाएको छ। त्यसकै प्रारम्भिक तयारीस्वरूप डंगोललाई कान्स पठाइएको महानगरको भनाइ छ।
यसअघि महानगरका तत्कालीन प्रमुख बालेन शाह पनि कान्स फिल्म फेस्टिभलमा सहभागी भएका थिए। काठमाडौंलाई युनेस्कोले ‘फिल्म सिटी’ का रूपमा मान्यता दिइसकेको छ।
यस वर्षको कान्स फिल्म फेस्टिभल फ्रान्समा मे २१ सम्म सञ्चालन हुनेछ।
