काठमाडौं, जेठ ३ – नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले देशी तथा विदेशी शक्तिहरू एमाले र त्यसको नेतृत्वविरुद्ध सक्रिय रहेको आरोप लगाएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेका गतिविधि र राजनीतिक घटनाक्रमलाई एमाले कमजोर बनाउने योजनाको हिस्सा भएको दाबी गरे ।
आइतबार काठमाडौँको बल्खुस्थित मदन नगरमा आयोजित मदन–आश्रित स्मृति कार्यक्रममा बोल्दै थापाले एमालेमाथि निरन्तर घेराबन्दी भइरहेको बताए । उनले पार्टी नेतृत्वको सुरक्षा र संगठनको मजबुतीका लागि सम्पूर्ण कार्यकर्ता एकजुट हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
थापाले सरकारले ल्याएका अध्यादेश, मन्त्रिपरिषद्का निर्णय तथा अध्यक्ष ओलीमाथि दर्ता गरिएका मुद्दाहरूलाई दासढुंगा घटनाकै निरन्तरताका रूपमा व्याख्या गरे । उनका अनुसार एमाले नेतृत्वलाई कमजोर पार्ने उद्देश्यसहित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् ।
उनले पछिल्ला राजनीतिक घटनाक्रमले एमालेविरुद्ध योजनाबद्ध अभियान चलिरहेको संकेत गरेको बताए । जेनजी आन्दोलनदेखि सरकारका कदमसम्मलाई एउटै श्रृंखलामा जोड्दै उनले पार्टी पंक्तिलाई सचेत रहन आग्रह गरे ।
थापाले एमाले र त्यसको नेतृत्वमाथि भइरहेको आक्रमणको प्रतिवाद गर्नुपर्ने बेला आएको पनि बताए । उनले पार्टी र नेतृत्वको रक्षा गर्नु अहिलेको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गर्दै कार्यकर्तालाई संगठित भएर अघि बढ्न आह्वान गरे ।
