वैदेशिक रोजगारीको प्रलोभनमा नेपाली महिला बेच्ने गिरोहमाथि तत्काल एक्सन लिन माग


वैदेशिक रोजगारीको प्रलोभनमा नेपाली महिला बेच्ने गिरोहमाथि तत्काल एक्सन लिन माग
  • नवकिरण
  • जेष्ठ ४, २०८३

काठमाडौं, जेठ ४ – खुश्वु ओली ले वैदेशिक रोजगारीको प्रलोभनमा नेपाली महिलाहरूलाई खाडी मुलुकमा बेचबिखन गर्ने गिरोहमाथि सरकारले तत्काल कारबाही गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कुवेतसहित विभिन्न देशमा नेपाली महिलाहरूलाई लाखौँ रुपैयाँमा बिक्री गर्ने मानव तस्कर समूह सक्रिय रहेको उल्लेख गरिन्। उनका अनुसार प्रतिबन्ध हुँदाहुँदै पनि अवैध माध्यम प्रयोग गरेर महिलाहरूलाई विदेश पठाउने काम भइरहेको छ।

उनले सन् २०१७ देखि घरेलु कामदारका रूपमा महिलालाई विदेश जान रोक लगाइए पनि त्यसले मानव तस्करी नियन्त्रण गर्न नसकेको बताइन्। बरु एजेन्टहरूले नयाँ–नयाँ बाटो प्रयोग गर्दै भारत र अफ्रिकी मुलुक हुँदै महिलाहरूलाई खाडी पुर्‍याउने गरेको उनको भनाइ थियो।

खुश्वु ओलीले यस्ता घटनामा संलग्न एजेन्ट र गिरोह पहिचान गरेर कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिन्। साथै, विदेशमा समस्यामा परेका नेपाली महिलाको उद्धारमा पनि ढिलाइ गर्न नहुने उनले बताइन्।

संसद्मा उनले कुवेतमा अलपत्र परेकी शर्मिला दर्जीको खोजी र उद्धारका लागि सरकार गम्भीर बन्नुपर्ने माग समेत गरिन्। उनका अनुसार यो घटना मात्रै नभई धेरै नेपाली महिला यस्तै समस्याबाट पीडित छन्।

उनले वैदेशिक रोजगारीको नाममा भइरहेको शोषण, ठगी र बेचबिखन रोक्न प्रभावकारी नीति र निगरानी आवश्यक रहेको बताउँदै सरकार मूकदर्शक बन्न नहुने धारणा राखिन्।