निर्माण सामग्री महँगिएपछि देशभर सञ्चालनमा रहेका ३० हजार आयोजना अन्योलमा


निर्माण सामग्री महँगिएपछि देशभर सञ्चालनमा रहेका ३० हजार आयोजना अन्योलमा
  • नवकिरण
  • जेष्ठ ५, २०८३

काठमाडौं, जेठ ५ – निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि देशभरका विकास निर्माण आयोजना प्रभावित बनेका छन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ महँगिँदा त्यसको असर नेपालमा पनि देखिएको हो ।

निर्माण व्यवसायीहरूका अनुसार बिटुमिन, डिजेल, डन्डी र सिमेन्टको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य दोब्बरभन्दा बढी पुगेपछि कालोपत्रे गर्ने काम प्रभावित बनेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले अहिलेको मूल्यवृद्धिले पुराना ठेक्काअनुसार काम गर्न कठिन भएको जनाएको छ । सामग्रीको मूल्यसँगै मजदुरको ज्याला पनि बढेकाले आयोजनाको लागत अत्यधिक बढेको व्यवसायीहरूको भनाइ छ ।

महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको बताए । बजारमा सामग्री अभाव, गुणस्तरमा समस्या र स्थानीय तहले लगाएको करले व्यवसायी थप मारमा परेको उनको आरोप छ ।

व्यवसायीहरूका अनुसार हाल देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना प्रभावित भएका छन् । बिटुमिन अभावका कारण सडक कालोपत्रेसम्बन्धी धेरै परियोजनाको काम सुस्त भएको बताइएको छ ।

निर्माण व्यवसायीहरूले मूल्य समायोजन, आयोजनाको म्याद थप र सहज कार्य वातावरणको माग गर्दै आन्दोलनसमेत गरिरहेका छन् । सरकारको सहयोगबिना निर्माण क्षेत्र थप संकटमा जाने उनीहरूको चेतावनी छ ।

यसबीच सडक विभागले समस्या समाधानका लागि अध्ययन भइरहेको जनाएको छ । विभागका अनुसार व्यवसायीका माग र बजार मूल्यवृद्धिबारे विश्लेषण गरेर चाँडै नीतिगत निर्णय गरिनेछ ।