बाजुरा, जेठ ७ – बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादले आक्रामक रूप लिँदा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल नेतृत्वको भ्रमण टोली साइपाल रानीसैन बेसक्याम्प पुग्न असफल भएको छ।
हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनका परिवारमाथि स्थानीय बासिन्दाले प्रहरी चौकी निर्माणको विरोधमा मरणासन्न हुने गरी कुटपिट गरेका छन्। घटनाको मुख्य कारण लाम्पाटामा थाली समुदायको पुरानो दाबी रहेको बताइएको छ।
स्थानीय प्रशासनका अनुसार, २ जेठदेखि नै गुरुङ परिवारलाई लक्षित गर्दै हमला भइरहेको थियो। ३ जेठमा घरमै कुटपिट भएपछि जिल्ला प्रशासनले अवस्था नियन्त्रण गरेको थियो।
धनगढी टोली साइपाल जाँदै गर्दा रानीसैनको फेदमा पुगेको बेला मात्र घटना थाहा पाएपछि टोलीले संयमता अपनाएर फर्कनु परेको मेयर हमालले बताए। उनले भने, “हामीलाई पूर्व जानकारी भएन, नत्र त्यहाँ जादैनथ्यौं।”
घटनामा ड्रोन उडाउने विषयले होइन, पुरानो सीमा विवाद र प्रहरी चौकी निर्माणको विरोधले मुख्य भूमिका खेलेको पालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताए।
अन्ततः घाइते वडा सदस्यसहितको परिवारलाई ३ जेठमा सरकारले हेलीकोप्टरमार्फत सुर्खेत लगेर उद्धार गरेको थियो।
