प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ– “उपयुक्त समयमा संसद् आउँला”


प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ– “उपयुक्त समयमा संसद् आउँला”
  • नवकिरण
  • जेष्ठ ७, २०८३

काठमाडौं, जेठ ७ – प्रधानमन्त्री बालेन्द्र शाहले उपयुक्त समयमा संसद् उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने बताएका छन्। सभामुख डोल प्रसाद अर्यालका अनुसार प्रधानमन्त्रीले यस्तो जानकारी कार्यव्यवस्था परामर्श समितिलाई उपलब्ध गराएका हुन्।

प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार नाराबाजी गर्दै संसद् अवरुद्ध गर्ने प्रयास गरेका थिए। यस क्रममा सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेर विपक्षीको माग बारे जानकारी लिएका थिए। प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेर सभामुखलाई जानकारी दिएका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिमा पनि प्रतिनिधिसभामा कामकाज रोकिएन। विपक्षीको नाराबाजीबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भयो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव गरेपछि सभामुखले संशोधनहरू निर्णायार्थ प्रस्तुत गरे।

त्यसैगरी, विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक माथि विचार गर्नुपर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गतेका लागि बोलाइएको छ।