पोखरा महानगरले स्थायी फोहोर प्रशोधन केन्द्र निर्माण योजना रोक्दा सडकमै फोहोर छरपस्ट


पोखरा महानगरले स्थायी फोहोर प्रशोधन केन्द्र निर्माण योजना रोक्दा सडकमै फोहोर छरपस्ट
  • नवकिरण
  • जेष्ठ ८, २०८३

पोखरा, जेठ ८ – पोखरामा बिहीबार साँझ परेको मुसलधारे वर्षाले शहरका मुख्य सडकहरू जलमग्न बनाएको छ। न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह र लेकसाइडमा सडकमा भेलसँगै फोहोर पनि बग्दा दुर्गन्ध फैलिएको छ।

पोखरा–२१ मा दुई दिन फोहोर फाल्ने अवस्था नबन्नु र नागरिकले सडकमै फोहोर फाल्दा सडकमै फोहोर छरपस्ट बनेको छ। महानगरका फोहोरमैला शाखाका प्रमुख प्रभात लामिछानेले नागरिकको अवज्ञा र अव्यवस्थाका कारण यो अवस्था आएको बताएका छन्।

स्थायी फोहोर व्यवस्थापनका प्रयास पनि अलपत्र छन्। पोखरा–३३ मा ७० रोपनी जग्गामा ८० करोड रुपैयाँ लगानी गरेर फोहोर प्रशोधन केन्द्र बनाउने योजना थियो। तर, स्थानीय विरोध, भ्रष्टाचारको आरोप र अन्य विवादका कारण परियोजना स्थगित भएको छ।

हाल फोहोर व्यवस्थापन भइरहे पनि ५–६ महिनाभित्र फोहोर भण्डारण स्थल भरिने अवस्था छ। फोहोरमैला शाखाका हर्क गायकका अनुसार, “सडकमा छरपस्ट भएको फोहोर उठाउने काम अहिले भइरहेको छ। केही ठाउँमा स्काभेटर समस्या भएपछि काम रोकिएको थियो, तर आजबाट काम फेरि सुरु हुनेछ।”

पोखरामा दिगो फोहोर व्यवस्थापन नहुँदा पर्यटकीय नगरीको छवि प्रभावित भइरहेको छ। महानगरले अहिले अर्को स्थायी ल्याण्डफिलको लागि पोखरा–३२ मा प्रक्रिया अघि बढाएको छ।