गगन थापाले पार्टीभित्र अराजकता फैलाएको आरोप लगाउँदै आगामी महाधिवेशनमा जिम्मेवारीबाट हटाउने चेतावनी


गगन थापाले पार्टीभित्र अराजकता फैलाएको आरोप लगाउँदै आगामी महाधिवेशनमा जिम्मेवारीबाट हटाउने चेतावनी
  • नवकिरण
  • जेष्ठ १०, २०८३

धनगढी, जेठ १० – सुदूरपश्चिम प्रदेशस्तरीय कांग्रेस भेलामा सभापति गगन थापाविरुद्ध कडा चेतावनी जारी भएको छ। शेरबहादुर देउवा पक्षीय नेताहरूले थापाले पार्टीभित्र भ्रम र अराजकता सिर्जना गरेको भन्दै आगामी १५औँ महाधिवेशनमा उनलाई जिम्मेवारीबाट हटाउने प्रतिवद्धता जनाएका छन्।

कञ्चनपुरका सभापति पदम बोगटीले गगन थापाले पुराना नेताहरूको सम्मान नगरी पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै भने, “यो प्रयास सफल हुँदैन। महाधिवेशनमा नयाँ नेतृत्व ल्याउनेछौं।”

पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सभापति थापाले सङ्कलन गरेको भनिएको हस्ताक्षरलाई नक्कली ठहर गर्दै पार्टी कार्यालयमा नभई होटलमा बैठक बस्ने कामप्रति आपत्ति जनाए। प्रदेश सभापति वीरबहादुर बलायरले पनि पार्टीको नियम र अनुशासन उल्लङ्घन गर्नेहरूलाई पार्टीबाट हटाउने चेतावनी दिए।

भेलामा सहभागी नेताहरूले गगन थापाले पार्टीभित्र समानान्तर गतिविधि चलाउने प्रयास गरेको आरोप लगाउँदै देउवा पक्षमा उभिने घोषणा गरे। यसले आगामी महाधिवेशनअघि पार्टीमा नेतृत्व विवादलाई अझ उजागर गरेको छ।