काठमाडौँ, जेठ ११ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा हुने भएको छ। सुनुवाइ न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा हुनेछ।
देउवाले रिटमा दाबी गरेका छन् कि उक्त मुद्दा हेर्ने अधिकार क्षेत्र विशेष अदालतको हो र काठमाडौँ जिल्ला अदालतसँग कुनै अधिकार छैन। उनले अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको र पक्राउ आवश्यक नभएको समेत बताएका छन्।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले रिटमा अन्तरिम आदेश दिने विषयमा छलफल गर्न मुद्दा झिकाउन आदेश दिएको थियो।
हाल देउवा दम्पती हङकङमा छन् र नेपाल फर्केका छैनन्। विभागले रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको भए पनि इन्टरपोलले अहिलेसम्म नोटिस जारी गरेको छैन।
