नक्कली प्रमाणपत्र प्रकरण : नवलपरासी शिक्षकविरुद्ध अख्तियारले मुद्दा दायर


नक्कली प्रमाणपत्र प्रकरण : नवलपरासी शिक्षकविरुद्ध अख्तियारले मुद्दा दायर
  • नवकिरण
  • जेष्ठ ११, २०८३

काठमाडौँ, जेठ ११ – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको ओहोदा र सुविधा लिएका नवलपरासीका कृष्णबहादुर खन्नाहाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, खन्नाहाले भारतको ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’ बाट जारी भएको झूटो प्रवेश पत्र, लब्धाङ्क प्रमाणपत्र र माइग्रेसन सर्टिफिकेट पेश गरेका थिए। यसरी उनले आफ्नो ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ।

खन्नाहाले २०५९ मङ्सिर १ देखि श्री भवानी माध्यमिक विद्यालयमा अस्थायी शिक्षकका रूपमा काम सुरु गरेका थिए र २०७५ चैत २९ देखि स्थायी शिक्षक बनेका थिए। हाल उनी मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणीमा तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत छन्।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार उनलाई कैद र जरिवानाको सजाय माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।