काठमाडौं, जेठ १२ – काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्कको सञ्चालित ग्यालेक्सी ४के टेलिभिजनलाई १५ दिनभित्र बहाल रकम बुझाएर सामान उठाउन अन्तिम चेतावनी दिएको छ। तोकिएको समयभित्र कदम नचालेमा महानगरपालिकाले सामान लिलाम गर्ने तयारी गरेको छ।
घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राई (जीबी) विरुद्ध घरजग्गा खाली गराउने र बहाल रकम असुल गर्ने मुद्दा दायर गरेका थिए। न्यायिक समितिले २०८१ कात्तिक १४ मा घरजग्गा खाली गराउने निर्णय गरेको थियो।
निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ मा परमादेश जारी गर्दै दुई महिनाभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो। त्यसपछि महानगरको टोलीले घरजग्गा खाली गराए पनि टेलिभिजनका सामग्री अझै त्यही छन्।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचना अनुसार, तोकिएको १५ दिनभित्र बहाल रकम बुझाइ नउठाएमा ‘काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ को दफा ७० अनुसार लिलाम प्रक्रिया अघि बढाइनेछ।
हाल जीबी राई फरार छन् भने टेलिभिजन बन्द अवस्थामा रहेको छ।
