सुनसरी, जेठ १४ – श्रम संस्कृति पार्टीले २०८४ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि धनबहादुर राईलाई उम्मेदवारको रूपमा अघि सारेको छ।
राई धरान–४ का पूर्ववडाध्यक्ष हुन्। उनी २०७९ मा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। एमालेबाट कारबाहीपछि राईले वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए र त्यसपछि गत फागुन १६ गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
धनबहादुर राईले पार्टी अध्यक्ष हर्कराज साम्पाङको विश्वास र समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन्। धरानमा मेयर पदका लागि राईसहित दिनेश राई, निनाचन्द्र राई, सुमन श्रेष्ठ पनि आकांक्षी थिए।
पार्टीले प्रदेशस्तरमा पनि तयारी अघि बढाएको छ। भर्खरै प्रवेश गरेका सुदन किरातीलाई कोशी प्रदेशको प्रस्तावित मुख्यमन्त्री पदको उम्मेदवारको रूपमा अघि सार्ने योजना बनाइएको छ।
