काठमाडौँ, जेठ १५ – परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत पदमा आवेदन आह्वान गरेको छ । मन्त्रालयले योग्य तथा अनुभवी नेपाली नागरिकबाट आवेदन र सिफारिस माग्दै सूचना सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार इच्छुक व्यक्तिले आफैँ आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा संस्थाले पनि योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्नेछन् । आवेदन बुझाउने अन्तिम म्याद जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको छ ।
राजदूत बन्नका लागि उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ । साथै मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।
उम्मेदवारले कुनै विदेशी मुलुकको पीआर, ग्रिनकार्ड वा अन्य आवासीय सुविधा लिएको हुनु नहुने मन्त्रालयले स्पष्ट पारेको छ । अङ्ग्रेजी भाषामा राम्रो ज्ञान आवश्यक रहने र सम्बन्धित देशको भाषा जान्ने उम्मेदवारलाई थप प्राथमिकता दिइने बताइएको छ ।
यस्तै, भ्रष्टाचार, नैतिक पतन वा फौजदारी कसुरमा अदालतबाट सजाय पाएका व्यक्ति राजदूत नियुक्तिका लागि अयोग्य हुनेछन् । सरकारी सेवाबाट बर्खास्त भएका तथा कुनै सरकारी वा अन्तर्राष्ट्रिय संस्थाको कालोसूचीमा परेका व्यक्तिलाई पनि आवेदन दिन नपाइने व्यवस्था गरिएको छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति, कानुन, अर्थशास्त्र र जनप्रशासन विषयमा उच्च शिक्षा हासिल गरेका उम्मेदवारलाई प्राथमिकतामा राख्ने जनाएको छ । कूटनीति, अन्तर्राष्ट्रिय व्यापार, बहुपक्षीय वार्ता तथा परराष्ट्र नीतिसम्बन्धी अनुभव भएका व्यक्तिलाई थप योग्य मानिने उल्लेख गरिएको छ ।
राजदूतले सम्बन्धित मुलुकमा नेपालको प्रतिनिधित्व गर्दै राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तार, वैदेशिक लगानी आकर्षण, पर्यटन प्रवर्द्धन र विदेशमा रहेका नेपालीको हित संरक्षणका क्षेत्रमा काम गर्नुपर्नेछ ।
मन्त्रालयले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गर्दै रीत नपुगेका आवेदन स्वीकार नगरिने जनाएको छ । प्राप्त आवेदनमध्ये उपयुक्त उम्मेदवारलाई ‘सर्टलिस्ट’ गरी थप प्रक्रियाका लागि सम्पर्क गरिने सूचनामा उल्लेख छ ।
