काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब तथा सुविधामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ ।
शुक्रबार बजेट भाषणमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिएका हुन् । त्यससँगै कार्यसम्पादनलाई आधार बनाएर थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था पनि गरिएको उनले बताए ।
सरकारले हाल लागू हुँदै आएको महँगी भत्तालाई पनि यथावत् राखेको छ । कर्मचारीको तलब पछिल्ला चार वर्षदेखि पुनरावलोकन नभएको र यसबीच महँगी निरन्तर बढेकाले तलब समायोजन गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।
नयाँ व्यवस्थापछि कर्मचारीले पाउने कुल पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारको दाबी छ । यससँगै ग्रेडसहित कर्मचारीको न्यूनतम मासिक आम्दानी करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा बढी पुग्ने बताइएको छ ।
