काठमाडौं, जेठ १७ – विभिन्न आपराधिक अभियोगमा फरार रहेकी टिकटकर तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।
प्रहरीका अनुसार इन्टरपोलको समन्वयमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो। उनीमाथि सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा चलिरहेको छ।
ललितपुर जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाका कारण अधिकारीलाई अदालतमा उपस्थित गराउने तयारी गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
अधिकारीविरुद्ध ललितपुरका एक व्यवसायीले गम्भीर आरोप लगाएका छन्। व्यवसायीको दाबीअनुसार उनले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै करोडौं रुपैयाँ असुलेकी थिइन्। जाहेरीमा अधिकारीले ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा अन्य सामग्री लिएको उल्लेख छ।
यस प्रकरणमा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ भने सरकारी वकिल कार्यालयले ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरेको छ।
प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
