श्रम स्वीकृति बिना विमानस्थल पुग्ने क्रम बढेपछि अध्यागमनको चेतावनी


श्रम स्वीकृति बिना विमानस्थल पुग्ने क्रम बढेपछि अध्यागमनको चेतावनी
  • नवकिरण
  • जेष्ठ १७, २०८३

काठमाडौं, जेठ १७ – अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति प्राप्त भएको सुनिश्चित गरेर मात्रै विमानस्थल आउन आग्रह गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार श्रमिक भिसामा विदेश जान लागेका केही व्यक्तिहरूले श्रम स्वीकृतिका लागि आवेदन दिएपछि प्रक्रिया पूरा भएको ठानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेका छन्। तर, श्रम स्वीकृति जारी नभएसम्म विदेश प्रस्थानको अनुमति दिन नमिल्ने विभागले जनाएको छ।

अध्यागमनका अनुसार धेरैजसो श्रमिकले एजेन्ट वा अन्य व्यक्तिमार्फत आवेदन दिएका कारण आफ्नो श्रम स्वीकृतिको वास्तविक अवस्था थाहा नपाउने समस्या देखिएको छ। यसले विमानस्थलमा अनावश्यक झन्झट र समयको बर्बादी हुने गरेको विभागको भनाइ छ।

त्यसैले वैदेशिक रोजगारीमा जाने सबै नेपालीलाई श्रम स्वीकृति जारी भएको आधिकारिक पुष्टि गरेपछि मात्र यात्रा तय गर्न विभागले अनुरोध गरेको छ। आवेदन मात्रै दर्ता भएको अवस्थामा श्रमिक भिसाबाहक यात्रुलाई अध्यागमनबाट बाहिरिन अनुमति नदिइने पनि विभागले स्पष्ट पारेको छ।