काठमाडौं, जेठ १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सहकारी पीडितलाई वितरण भइरहेको रकम सरकारी कोषबाट नभई समस्याग्रस्त सहकारी संस्थाबाट संकलन गरिएको रकमबाट उपलब्ध गराइएको बताएका छन्।
प्रतिनिधिसभामा सांसद आर्यन राईले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकारले सहकारी पीडितको रकम फिर्ता गर्न छुट्टै व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार समस्यामा परेका सहकारी संस्थाबाट संकलित रकमलाई कोषमा राखेर सोही स्रोतबाट पीडितलाई रकम फिर्ता गर्ने काम भइरहेको छ।
प्रधानमन्त्री शाहले सरकारले नागरिकको करबाट संकलित रकम सहकारी पीडितलाई बाँडेको भन्ने बुझाइ सही नभएको स्पष्ट पारे। उनले सहकारी क्षेत्रबाट उठाइएको करिब ३ करोड रुपैयाँको कोष निर्माण गरिएको र हालसम्म ६० लाख रुपैयाँभन्दा बढी रकम पीडितलाई वितरण भइसकेको बताए।
सहकारी बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै उनले सरकारले पीडितको हितलाई केन्द्रमा राखेर आवश्यक कदम चालिरहेको बताए।
