काठमाडौं, जेठ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनी पाँचदिने भ्रमणका लागि आइतबार दिल्ली गएका हुन्।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भएको यस भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक नेतृत्व र कूटनीतिक क्षेत्रका व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।
भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि सहभागी छन्।
नेपाल–भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयहरू चर्चामा रहेका बेला लामिछानेको दिल्ली भ्रमणलाई राजनीतिक वृत्तले अर्थपूर्ण रूपमा हेरेको छ।
रास्वपा स्रोतका अनुसार भ्रमण सम्पन्न गरी लामिछाने जेठ २२ गते नेपाल फर्किने कार्यक्रम छ।
