काठमाडौं, जेठ १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिन विकास, पूर्वाधार, प्रविधि र आर्थिक सहकार्यमा आधारित साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
भारत भ्रमणका क्रममा भारतीय दैनिक हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखमा उनले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक र कूटनीतिक विषयमा सीमित नराखी साझा समृद्धिको आधारमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले सीमा विवादलगायतका संवेदनशील विषयहरू संवाद र आपसी विश्वासका आधारमा समाधान गर्नुपर्ने उल्लेख गर्दै विकासमुखी सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन्। रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, पोखरा र लुम्बिनीबाट भारतीय शहरहरूमा सिधा हवाई उडान तथा ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ जस्ता परियोजनालाई उनले द्विपक्षीय सम्बन्धको नयाँ आधारका रूपमा प्रस्तुत गरेका छन्।
लामिछानेले भारतीय शैक्षिक, स्वास्थ्य तथा प्रविधि संस्थाहरूलाई नेपालमा विस्तार गर्न आह्वान गर्दै आईआईटी र एम्सस्तरका संस्थाहरू नेपालमा स्थापना गर्न सकिने बताएका छन्। साथै नेपाल–भारत सीमाक्षेत्रमा रासायनिक मल उद्योग स्थापना गरी कृषि उत्पादन र औद्योगिक विकासलाई गति दिन सकिने उनको भनाइ छ।
ऊर्जा क्षेत्रमा नेपालको जलविद्युत् क्षमता र भारतको विशाल बजारलाई जोडेर एकीकृत ऊर्जा प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्। व्यापार र पारवहनलाई सहज बनाउन आधुनिक पूर्वाधार र डिजिटल प्रणाली विस्तार गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।
खेलकुद क्षेत्रलाई समेत सहकार्यको महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै लामिछानेले भविष्यमा नेपाली खेलाडी र रंगशालाको सहभागिता आईपीएलजस्ता प्रतियोगितामा हुन सक्ने सम्भावनातर्फ संकेत गरेका छन्।
भारत भ्रमणका क्रममा उनले भारतीय जनता पार्टीका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको र दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, अनुभव आदानप्रदान तथा राजनीतिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।
