विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ सम्म स्थगित


विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ सम्म स्थगित
  • नवकिरण
  • जेष्ठ १९, २०८३

काठमाडौं, जेठ १९ – विपक्षी दलहरूले लगातार नाराबाजी र विरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ।

दिउँसो १ बजे बस्ने तय भएको बैठक करिब दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले केही विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादसम्बन्धी दिएको अभिव्यक्तिबारे स्पष्ट तथ्य सार्वजनिक गर्न माग गर्दै आएका छन्। तथ्य पुष्टि गर्न नसके प्रधानमन्त्रीले संसद् र जनतासमक्ष माफी माग्नुपर्ने उनीहरूको अडान रहेको छ।

मंगलबारको बैठकमा पनि विपक्षीहरूले यही माग दोहोर्‍याएका थिए। सभामुख अर्यालले निर्धारित कार्यसूचीअनुसार संसद्को कामकारबाही अघि बढाउने प्रयास गरे पनि विपक्षी सांसदहरूको विरोध नरोकिएपछि बैठक स्थगित गर्न बाध्य भएका हुन्।

आजको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउने लगायतका विषय समावेश थिए। तर अवरोधका कारण कुनै पनि कार्यसूची अघि बढ्न सकेन।

सभामुख अर्यालले अब प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बस्ने जानकारी दिएका छन्।