होल्डिङ सेन्टरमै बिरामी परेका सुकुमवासीको उपचारका क्रममा मृत्यु


होल्डिङ सेन्टरमै बिरामी परेका सुकुमवासीको उपचारका क्रममा मृत्यु
  • नवकिरण
  • जेष्ठ २१, २०८३

काठमाडौं, जेठ २१ – कीर्तिपुरको होल्डिङ सेन्टरमा बसोबास गरिरहेका विस्थापित सुकुमवासी भेषबहादुर दर्जीको उपचारका क्रममा निधन भएको छ। बिहीबार वीर अस्पतालमा उपचाररत अवस्थामा उनको मृत्यु भएको परिवारले जनाएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई केही दिनअघि उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकहरूले उनको फोक्सोमा पानी जमेको र अवस्था गम्भीर रहेको बताएका थिए। त्यसपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।

दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित रहेको परिवारको भनाइ छ। उपचारका विभिन्न प्रयास भए पनि उनको स्वास्थ्यमा सुधार आउन नसकेको बताइएको छ।

उनकी पत्नी विमला सुनुवारले निधनको पुष्टि गर्दै परिवारमा तीन सदस्य रहेको जानकारी दिइन्। परिवारले बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरेको छ।

दर्जी कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अन्य विस्थापित सुकुमवासीसँगै बस्दै आएका थिए।