फलामको रड प्रहारबाट श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ


फलामको रड प्रहारबाट श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ पक्राउ
  • नवकिरण
  • जेष्ठ २३, २०८३

काठमाडौं, जेठ २३ – सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारस्थित निवासबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति घरायसी विवाद चर्किँदा ४२ वर्षीय थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना राति करिब १०:१० बजे भएको बताइएको छ। घटनापछि प्रहरीले थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापाले आफूलाई ‘प्रो रेस्लर’का रूपमा परिचित गराउँदै आएका थिए।