ट्राफिक नियम उल्लंघन गरेको भन्दै हर्क साम्पाङलाई जरिवाना गर्ने तयारी


ट्राफिक नियम उल्लंघन गरेको भन्दै हर्क साम्पाङलाई जरिवाना गर्ने तयारी
  • नवकिरण
  • जेष्ठ २३, २०८३

विराटनगर, जेठ २३ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हातले मोटरसाइकल चलाएको र हेल्मेट नलगाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार सार्वजनिक भएको भिडियोमा ट्राफिक नियम उल्लंघन स्पष्ट देखिएकाले आवश्यक जरिवाना गरिनेछ। उनका अनुसार कानुन सबैका लागि समान रूपमा लागू हुन्छ र कसैलाई छुट दिन नसकिने बताए।

साम्पाङ केही दिनअघि उदयपुरबाट फर्किने क्रममा दुर्घटनामा परेर सामान्य घाइते भएका थिए। उनले आफैंले खिचेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए, जसमा उनी एक हातले बाइक चलाइरहेका र अर्को हातले मोबाइल प्रयोग गरिरहेका देखिन्छन्।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस चलेको छ। प्रहरीले जरिवाना प्रक्रियाका लागि चालक अनुमतिपत्र र सवारी साधनको ब्लूबुक आवश्यक पर्ने जनाएको छ।

यसबीच, साम्पाङले भने घटनालाई सामान्य रूपमा लिँदै आफूलाई मात्र चोट लागेको तर कुनै गम्भीर समस्या नभएको प्रतिक्रिया दिएका छन्। उनले ट्राफिक नियम र कारबाहीबारे प्रश्न उठाउँदै सामाजिक सञ्जालमा टिप्पणी समेत गरेका छन्।