हिरासतमा धम्की दिएको आरोपमा सुधन गुरुङविरुद्ध उजुरी प्रयास, प्रहरीले लिएन जाहेरी


हिरासतमा धम्की दिएको आरोपमा सुधन गुरुङविरुद्ध उजुरी प्रयास, प्रहरीले लिएन जाहेरी
  • नवकिरण
  • जेष्ठ २५, २०८३

काठमाडौं, जेठ २५ – पूर्वगृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासतमा रहेका प्रदर्शनकारी युवालाई धम्की र अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। उक्त आरोपसहित तीन युवाले प्रहरीमा जाहेरी दिन खोजे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

जेठ १९ गते भारतीय दूतावास अगाडि सांकेतिक प्रदर्शन गरेका कारण पक्राउ परेका अजय सोडारी, प्रकाश बम र लक्ष्मण पौडेलले गुरुङविरुद्ध उजुरी दिन खोजेका हुन्। उनीहरूको दाबी अनुसार हिरासतमा रहेका बेला गुरुङ उनीहरूलाई भेट्न पुगेका थिए र राष्ट्रवादी नारासहितका गतिविधि दोहोर्‍याए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

पीडित पक्षले गुरुङले गालीगलौज गर्नुका साथै ज्यानको सुरक्षामाथि खतरा उत्पन्न हुने किसिमको अभिव्यक्ति दिएको आरोप लगाएका छन्। सो घटनाको प्रमाणका रूपमा हिरासत कक्षको सीसीटीभी फुटेज सुरक्षित राख्न समेत उनीहरूले माग गरेका छन्।

यता काठमाडौं प्रहरी परिसरले भने उजुरी दर्ता गर्न अस्वीकार गर्दै हिरासतभित्र त्यस्तो घटना भएको पुष्टि हुने आधार नरहेको जनाएको छ। प्रहरीका अनुसार थुनुवामाथि अभद्र व्यवहार भएको दाबी मात्रैका आधारमा मुद्दा दर्ता गर्न मिल्दैन।

जाहेरी दर्ता नभएपछि ती युवाले आफ्नो सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।