काठमाडौं, जेठ २६ – प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री पदका लागि सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पदका लागि महावीर पुनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
राष्ट्रपति कार्यालयबाट आजै दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ। शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको जनाइएको छ।
सम्पत्ति विवरण सम्बन्धी विवादपछि गृहमन्त्री पदबाट बाहिरिएका गुरुङ पुनः सरकारमा फर्किन लागेका हुन्। उनीमाथि उठेका प्रश्नबारे अध्ययन तथा छानबिन गर्न सरकारले गठन गरेको समितिले हालै आफ्नो प्रतिवेदन बुझाएको थियो।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा रहेको समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकार गरेपछि गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय भएको हो।
यसैबीच, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ। उनको नियुक्तिले प्रविधि विकास, अनुसन्धान र नवप्रवर्तनलाई थप गति दिने अपेक्षा गरिएको छ।
