प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई डीडीसीको प्याकेट उपहार


प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई डीडीसीको प्याकेट उपहार
  • नवकिरण
  • जेष्ठ २६, २०८३

काठमाडौं, जेठ २६ – मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान हितको विषयलाई प्राथमिकताका साथ उठाइएको छ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न दुग्धजन्य उत्पादन समेटिएको प्याकेट हस्तान्तरण गरेकी हुन्। प्याकेटमा दूध, केशर दूध, बटर, चिज, दही तथा पेँडा लगायतका सामग्री समावेश थिए।

बैठकका क्रममा डीडीसीको बजार विस्तार, संस्थागत सुदृढीकरण तथा स्वदेशी उत्पादनको उपभोग बढाउने विषयमा समेत छलफल भएको बताइएको छ। मन्त्री चौधरीले नेपाली किसानबाट संकलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाट सक्रिय पहल आवश्यक रहेको धारणा राखिन्।

उनले डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न विभिन्न सरकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने उल्लेख गर्दै स्वदेशी उत्पादनको संरक्षणका लागि सरकारी नेतृत्वले नै उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री शाहले पनि डीडीसीका उत्पादनको प्रवर्द्धन तथा स्वदेशी वस्तुको प्रयोग बढाउने अभियानमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। यसअघि पनि उनले नेपाली उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न सार्वजनिक रूपमा आह्वान गर्दै आएका छन्।

लामो समयदेखि नेपाली बजारमा दूध तथा दुग्धजन्य सामग्री उपलब्ध गराउँदै आएको डीडीसीलाई थप सशक्त बनाउने उद्देश्यसहित सरकारले स्वदेशी उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ।