‘बजेटभन्दा ठूलो राजनीति नगरौँ’ भन्दै रविले गरे आग्रह


‘बजेटभन्दा ठूलो राजनीति नगरौँ’ भन्दै रविले गरे आग्रह
  • नवकिरण
  • जेष्ठ २७, २०८३

काठमाडौं, जेठ २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को जारी अवरोध अन्त्य गरेर सदनको कामकारबाही अघि बढाउन प्रस्ताव गरेका छन्। उनले परराष्ट्रमन्त्री शिशिर खनालले विवादित विषयमा सरकारको धारणा स्पष्ट पारिसकेको भन्दै संसद् खुलाउनुपर्ने बताएका हुन्।

बुधबार विपक्षी दलका नेताहरूसँग भएको छलफलमा लामिछानेले देशका विभिन्न जनसरोकारका विषय तथा बजेटमाथिको बहस प्रभावित भइरहेको उल्लेख गर्दै सदनलाई लामो समय अवरुद्ध राख्न नहुने धारणा राखे। उनले परराष्ट्रमन्त्रीलाई संसद्मा आफ्नो भनाइ राख्न अवसर दिएपछि नियमित प्रक्रिया अघि बढाउन सकिने सुझाव दिए।

यद्यपि विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेनन्। उनीहरूले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिका विषयमा स्पष्ट जवाफ आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको प्रत्यक्ष वा लिखित धारणा सार्वजनिक हुनुपर्ने माग दोहोर्‍याए।

बैठकमा सहभागी नेताहरूका अनुसार लामिछानेले सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिन सक्ने र त्यसपछि संसद्को गतिरोध अन्त्य गर्नुपर्ने तर्क प्रस्तुत गरेका थिए। तर विपक्षी दलहरूले त्यसलाई पर्याप्त मानेनन्।

प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते दिएको अभिव्यक्तिलाई लिएर विवाद बढ्दै गएको छ। सो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने मागसहित विपक्षी दलहरूले लगातार संसद् अवरोध गरिरहेका छन्।