ईश्वरी हत्या केस : पक्राउ परेकी युवती भन्छिन् – हाम्रो सम्बन्ध साथीभन्दा बढी थिएन


ईश्वरी हत्या केस : पक्राउ परेकी युवती भन्छिन् – हाम्रो सम्बन्ध साथीभन्दा बढी थिएन
  • नवकिरण
  • जेष्ठ २९, २०८३

काठमाडौं, जेठ २९ – तारकेश्वरमा भएको ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’का नामले परिचित कुमार थापा मगरसहित चार जनामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। घटनापछि पक्राउ परेका कुमारले आरोप स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।

यस प्रकरणमा कुमारका भाइ विक्रम थापा मगर, पूजन थापा र प्रतीक्षा आचार्य पनि प्रहरी नियन्त्रणमा छन्। मृतक पक्षले दिएको जाहेरीमा नाम उल्लेख भएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

प्रहरीसमक्ष दिएको बयानमा प्रतीक्षा आचार्यले आफू कुमारकी प्रेमिका नभई साथी मात्र रहेको बताएकी छन्। टिकटक बनाउने क्रममा चिनजान भएको र सामाजिक सञ्जालका सामग्री निर्माणबाहेक अन्य कुनै सम्बन्ध नरहेको उनको भनाइ छ।

मृतकका आफन्तले भने कुमार र प्रतीक्षाबीच प्रेम सम्बन्ध रहेको दाबी गर्दै आएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियो तथा तस्वीरलाई पनि त्यसको आधारका रूपमा प्रस्तुत गरिएको छ।

यता, पक्राउ परेका पूजन थापाले घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् भने विक्रम थापा मगरले दम्पतीबीचको विवाद समाधानका लागि कानुनी बाटो अपनाउन सुझाव दिएको स्वीकार गरेका छन्। तर हत्या योजनामा आफ्नो कुनै भूमिका नरहेको उनको जिकिर छ।

प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान गरिरहेको जनाएको छ।