इलाम, जेठ ३१ – नेपाली चिया निर्यातमा भारतीय पक्षले अपनाएको कडा परीक्षण प्रक्रियाले इलामको चिया उद्योग संकटमा परेको छ। निर्यातका लागि तयार गरिएको लाखौं किलो चिया बिक्री हुन नसकेपछि सूर्योदय नगरपालिकाका ५३ उद्योगले असार १ गतेदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्।
उद्योगीहरूका अनुसार भारतीय बजारमा पठाइएको २ लाख किलोभन्दा बढी चिया कोलकाताका गोदाममा रोकिएको छ भने नेपालभित्रका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया मौज्दात रहेको छ। उत्पादन निरन्तर भइरहे पनि बिक्रीको बाटो बन्द हुँदा उद्योग सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले उद्योग बन्द गर्ने निर्णयसँगै किसानहरू थप चिन्तित बनेका छन्। नगरपालिकाभित्र करिब तीन हजार किसान चिया खेतीमा आश्रित छन्। उद्योग बन्द भएमा बगानमा उत्पादन भएको हरियो पत्ती बिक्री नहुने र ठूलो आर्थिक क्षति हुने किसानहरूको गुनासो छ।
भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ मापदण्डअनुसार प्रत्येक बोराको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ। यसअघि गाडीको नमुना परीक्षणका आधारमा चिया निर्यात हुँदै आएको थियो। नयाँ व्यवस्थाका कारण चिया निर्यात प्रक्रिया जटिल बनेको उद्योगीहरूको आरोप छ।
उद्योगीहरूले सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गरे पनि हालसम्म कुनै ठोस नतिजा ननिस्किएको बताएका छन्। निर्यात अवरुद्ध भइरहे उद्योग क्षेत्र मात्र होइन, हजारौं किसानको जीविकोपार्जनसमेत प्रभावित हुने उनीहरूको चेतावनी छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट प्रत्येक वर्ष ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ। कुल निर्यातको अधिकांश हिस्सा भारतीय बजारमा निर्भर रहेकाले हालको अवरोधले समग्र चिया क्षेत्रलाई गम्भीर असर पार्ने देखिएको छ।
