काठमाडौं, असार ४ – इ–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि म्याद तामेली गरेपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत आफ्नो धारणा पठाएकी छन्।
अख्तियारका अनुसार राणाले आफू हाल उपचारका लागि विदेशमा रहेको र तत्काल नेपाल फर्किन नसक्ने जानकारी गराएकी छन्। उनले अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि स्वास्थ्य अवस्थाका कारण तत्काल उपस्थित हुन असमर्थ रहेको उल्लेख गरेकी बताइएको छ।
यसअघि अख्तियारको टोलीले बूढानीलकण्ठस्थित निवासमा पुगेर तीन दिनभित्र उपस्थित भई बयान दिन निर्देशनसहितको म्याद तामेल गरेको थियो। त्यसलगत्तै आयोगमा उनको नामबाट इमेल प्राप्त भएको स्रोतले जनाएको छ।
इ–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै विभिन्न उजुरी परेपछि अख्तियारले अनुसन्धान तीव्र बनाएको हो। अनुसन्धानका क्रममा ठेक्का प्रक्रियाको डिजाइन, प्राविधिक मूल्यांकन तथा सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे छानबिन भइरहेको छ।
यद्यपि हालसम्म प्राप्त कागजातहरूमा आरजु राणा देउवाको प्रत्यक्ष लिखित संलग्नता नदेखिएको बताइए पनि उजुरीका आधारमा उनी तथा अन्य सम्बन्धित व्यक्तिहरूसँग सोधपुछको प्रक्रिया अघि बढाइएको छ।
अख्तियारले राहदानी खरिद प्रकरणसँग सम्बन्धित सबै पक्षको भूमिका र जिम्मेवारीबारे अनुसन्धान जारी रहेको जनाएको छ।
