काठमाडौं, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्दै नियमिततर्फ करिब ७० प्रतिशत विद्यार्थी ग्रेडेड भएको जनाएको छ। यस वर्षको परीक्षामा सहभागीमध्ये ठूलो संख्याले २.८१ देखि ३.६० सम्मको जीपीए प्राप्त गरेका छन्।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने बाँकी विद्यार्थीले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण ननग्रेडेड भएका छन्।
उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीको संख्या पनि उल्लेखनीय देखिएको छ। ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने १७ हजार ७८६ विद्यार्थी रहेका छन्। यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ तथा २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २४९ विद्यार्थी रहेका छन्।
मध्यम श्रेणीमा पर्ने २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५० हजार ५९७ रहेको छ। २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना छन् भने १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ९ मात्र रहेको तथ्यांकले देखाएको छ।
आंशिक परीक्षार्थीमध्ये ८५ हजार ९२९ जनाले परीक्षा दिएका थिए। तीमध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन्, जुन ४२.३८ प्रतिशत हो। नियमित र आंशिक दुवै समूह जोड्दा कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
यस वर्ष नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। विद्यार्थीहरूले विभिन्न अनलाइन तथा दूरसञ्चार सेवामार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ।
वेबसाइटमार्फत :
राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np वा neb.gov.np मा गई नतिजा हेर्न सकिन्छ।
नेपाल टेलिकमको neb.ntc.net.np वेबसाइटबाट पनि परीक्षाफल प्राप्त गर्न सकिन्छ।
एसएमएसमार्फत :
मोबाइलको मेसेज बक्समा NEB लेखी एक स्पेस दिएर आफ्नो Symbol Number टाइप गरी १६०० नम्बरमा पठाउनुपर्छ।
आईभीआर सेवामार्फत :
नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी प्राप्त निर्देशन पालना गरेर नतिजा थाहा पाउन सकिन्छ।
यूएसएसडी सेवामार्फत :
मोबाइलबाट *1601# डायल गरी स्क्रीनमा देखाइने निर्देशनअनुसार नतिजा हेर्न सकिन्छ।
