रास्वपा महाधिवेशनको तयारी पूरा, चितवनमा १ हजार ८७ प्रहरी खटिने


रास्वपा महाधिवेशनको तयारी पूरा, चितवनमा १ हजार ८७ प्रहरी खटिने
  • नवकिरण
  • अषाढ ६, २०८३

चितवन, असार ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा व्यापक सुरक्षा तयारी गरिएको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा सञ्चालन हुने महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जना जनपद प्रहरी परिचालन गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार महाधिवेशन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा रणनीति तयार गरिएको छ। खुला र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा योजना बनाइएको उनले बताए।

महाधिवेशनमा सहभागी र सवारीसाधनको चाप बढ्ने अनुमान गर्दै ट्राफिक व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ। यसका लागि १६५ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ। भीडभाडका कारण आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

सहभागीले प्रयोग गर्ने ठूला सवारीसाधन राख्न भरतपुरको वीरेन्द्र क्याम्पस पछाडिको चौर तथा भरतपुर केन्द्रीय बसपार्कलाई पार्किङस्थलका रूपमा व्यवस्थापन गरिएको छ।

रास्वपा चितवनका सभापति मिनि माधव खनालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ३ हजार ५०० देखि ४ हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यस्तै उद्घाटन सत्रमा करिब ४० हजार समर्थक तथा शुभेच्छुकको उपस्थिति रहने अनुमान गरिएको छ।