रास्वपालाई बाबुरामको चेतावनी : संघीयता कमजोर पार्ने कदम घातक हुन सक्छ


रास्वपालाई बाबुरामको चेतावनी : संघीयता कमजोर पार्ने कदम घातक हुन सक्छ
  • नवकिरण
  • अषाढ ११, २०८३

काठमाडौं, असार ११ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको प्रदेशसभा खारेजीको प्रस्तावप्रति असहमति जनाउँदै त्यसले मुलुकमा नयाँ अस्थिरता निम्त्याउन सक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले संघीयता नेपालको लामो राजनीतिक संघर्ष र व्यापक सहमतिबाट स्थापित व्यवस्था भएकाले त्यसलाई कमजोर पार्ने वा हटाउने प्रयास उचित नहुने उल्लेख गरेका छन्।

भट्टराईले संविधान संशोधनजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भन्दै कुनै एक राजनीतिक शक्तिले एकल निर्णयका आधारमा यस्तो मुद्दा अघि बढाउन खोज्दा राजनीतिक अविश्वास बढ्न सक्ने बताए।

उनका अनुसार नेपालजस्तो विविधतायुक्त समाजमा संघीय संरचनालाई कमजोर बनाउने कदमले जातीय तथा क्षेत्रीय असन्तुष्टि बढाउन सक्छ। त्यसैले वर्तमान अवस्थामा संघीयता विरोधी बहस भन्दा जनताको जीवनसँग प्रत्यक्ष जोडिएका सुशासन, रोजगारी र विकासका मुद्दामा ध्यान दिन आवश्यक रहेको उनले बताएका छन्।

रास्वपाले जनअपेक्षा अनुरूप काम गरेर आफूलाई स्थापित गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले विवादास्पद राजनीतिक एजेन्डा भन्दा परिणाममुखी काममा केन्द्रित हुन सुझाव दिएका छन्।