काठमाडौं, असार ११ – कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नतिजा प्रक्रियाको पुनः परीक्षणका लागि समिति गठन गरिएको बताएका छन्।
उनका अनुसार उत्तरपुस्तिकाको नमुना परीक्षण, प्राप्ताङ्कको पुनः जाँच तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति बनाइएको हो।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले निर्धारित प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको दाबी गर्दै नतिजा हतारमा निकालिएको भन्ने आरोपमा सत्यता नभएको स्पष्ट पारे। बोर्डको नतिजा प्रणाली विश्वसनीय रहेको र आवश्यक तयारी तथा जनशक्ति व्यवस्थापन पछि मात्रै नतिजा प्रकाशन गरिएको उनको भनाइ छ।
नतिजाप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीहरूको आवाजलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा हुने अपमानजनक टिप्पणी, गालीगलौज र व्यक्तिगत आक्रमणबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।
परीक्षा परिणामलाई लिएर देखिएका जिज्ञासा र विवादलाई सम्बोधन गर्न गठित समितिले आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।
