चितवन, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित कार्यतालिका अनुसार सम्पन्न हुन नसक्दा शुक्रबार छैटौं दिनसम्म पुगेको छ। पदाधिकारी चयन प्रक्रिया बाँकी रहेकाले आजै नेतृत्वको अन्तिम टुंगो लगाएर महाधिवेशन समापन गर्ने तयारी गरिएको छ।
असार ७ गते उद्घाटन गरिएको महाधिवेशन असार ९ भित्र सक्ने योजना भए पनि विभिन्न चरणमा भएको ढिलाइले कार्यक्रम लम्बिएको हो। प्रतिनिधि छनोट, केन्द्रीय सदस्य निर्वाचन र पदाधिकारी चयन प्रक्रिया अपेक्षाभन्दा लामो हुँदा व्यवस्थापनमा समेत दबाब बढेको छ।
महाधिवेशनको अवधि लम्बिएपछि आर्थिक भार बढेको भन्दै व्यवस्थापन समितिले शुक्रबार प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगर्ने निर्णय गरेको छ। यसअघि बिहीबार राति बिहानको चिया मात्र उपलब्ध गराइने जानकारी दिइएको थियो।
पार्टी सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अब उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षलगायत पदाधिकारीको चयन प्रक्रिया टुंग्याउने तयारी भइरहेको छ।
पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्य चयनपछि मात्र पदाधिकारी चयन गर्नुपर्ने व्यवस्था छ। महाधिवेशन लम्बिँदै जाँदा धेरै प्रतिनिधि फर्किन थालेकाले बाँकी पदहरू सर्वसम्मत रूपमा टुंग्याएर शुक्रबार नै महाधिवेशन समापन गर्ने तयारी गरिएको जनाइएको छ।
