महामन्त्रीमा अवसर पाए पाँच वर्ष मन्त्रालय नछुने मनिष झाको वाचा


महामन्त्रीमा अवसर पाए पाँच वर्ष मन्त्रालय नछुने मनिष झाको वाचा
  • नवकिरण
  • अषाढ १२, २०८३

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटगत गतिविधि बढ्न थालेको भन्दै त्यसलाई रोक्न नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभापति रवि लामिछानेले प्रतिनिधिहरूलाई समूहगत राजनीति नगर्न निर्देशन दिएको स्मरण गराए। तर, सोही निर्देशनविपरीत केही पक्षले गुटबन्दीको अभ्यास गरिरहेको देखिएको भन्दै उनले त्यसले सभापतिको नामसमेत विवादमा पार्न सक्ने टिप्पणी गरे।

झाले आफू कुनै पनि प्रकारको समूहगत राजनीतिका पक्षमा नरहेको बताउँदै नेतृत्वसँग सहमतिका लागि छलफल भएको जानकारी दिए। उनले सहमतिलाई सधैं त्यागका रूपमा मात्र नहेर्न आग्रह गर्दै पार्टीलाई बलियो बनाउने उद्देश्यले आफूले महामन्त्री पदमा दाबी गरेको बताए।

उनले पार्टी नेतृत्वसँग आफूलाई मन्त्री बन्ने कुनै इच्छा नरहेको स्पष्ट पारेको उल्लेख गर्दै, यदि महामन्त्रीको जिम्मेवारी दिइए आगामी पाँच वर्षसम्म कुनै पनि मन्त्रालयमा दाबी नगर्ने प्रतिबद्धता जनाएको बताए। पार्टीको संगठन, व्यवस्थापन र आन्तरिक संरचना सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।

पार्टी स्थापनादेखि नै निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै प्रतिनिधिहरूले आफ्नो अनुभव र योजनालाई आधार बनाएर मतदान गर्ने विश्वास उनले व्यक्त गरे।

विपिन आचार्यको समर्थनमा संस्थापन पक्ष एकजुट भएको भनाइप्रति प्रतिक्रिया दिँदै झाले पार्टीभित्र गुटबन्दी गराउने प्रयास भए सभापति रवि लामिछानेले त्यसमा संलग्नमाथि कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।