सरकारको सय दिने योजना: उद्योग मन्त्रालयले समयअघि नै पूरा गर्‍यो जिम्मेवारी


सरकारको सय दिने योजना: उद्योग मन्त्रालयले समयअघि नै पूरा गर्‍यो जिम्मेवारी
  • नवकिरण
  • अषाढ १३, २०८३

काठमाडौं, असार १३ – उद्योगमन्त्री गौरीकुमारी यादवले सरकारले घोषणा गरेको सय दिने कार्ययोजना अन्तर्गत उद्योग मन्त्रालयले तोकिएका सबै जिम्मेवारी समयअघि नै पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री बालेन शाहसमक्ष ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन पेस गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयले सम्पन्न गरेका नीतिगत तथा प्रशासनिक सुधारका विवरण समेटिएको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्।

सरकारको सय दिने कार्ययोजना पूरा हुन अझै करिब एक साता बाँकी रहे पनि उद्योग मन्त्रालयले निर्धारित कामहरू समयअगावै सम्पन्न गरेको जनाएको छ। मन्त्रालयका अनुसार औद्योगिक वातावरण सुधार, सेवा प्रवाहलाई छिटोछरितो बनाउने, लगानीमैत्री नीति कार्यान्वयन, उद्योग प्रशासनलाई प्रभावकारी बनाउने तथा मन्त्रालयका प्राथमिकतामा रहेका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

मन्त्री यादवले सुशासनलाई बलियो बनाउने, जनविश्वास अभिवृद्धि गर्ने र परिणाममुखी कार्यसंस्कृति विकास गर्ने लक्ष्यका साथ मन्त्रालयले तीव्र गतिमा काम गरेको बताइन्। मन्त्रालयका कर्मचारी, सम्बन्धित निकाय तथा सरोकारवालाबीचको प्रभावकारी समन्वयका कारण निर्धारित जिम्मेवारी समयमै पूरा गर्न सफल भएको उनको भनाइ छ।

सरकारले सबै मन्त्रालयलाई घोषणा गरिएका कार्यक्रम समयमै सम्पन्न गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने नतिजा दिन निरन्तर निर्देशन दिँदै आएको छ।