बालबालिकालाई पार्टी सदस्य बनाएको आरोपमा संसद्मा रास्वपामाथि कांग्रेसको आपत्ति


बालबालिकालाई पार्टी सदस्य बनाएको आरोपमा संसद्मा रास्वपामाथि कांग्रेसको आपत्ति
  • नवकिरण
  • अषाढ १४, २०८३

काठमाडौं, असार १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयलाई लिएर प्रतिनिधिसभामा नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसले यसलाई संविधान र प्रचलित कानुनविपरीत भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले रास्वपाले सार्वजनिक गरेको सदस्यता विवरणमा १८ वर्षमुनिका ३५ हजार २५७ जना समावेश भएको उल्लेख गर्दै त्यसको वैधानिकतामाथि प्रश्न उठाइन्। उनले कानुनले १८ वर्ष पूरा नगरेका व्यक्तिलाई कुनै पनि राजनीतिक दलको सदस्य बन्न नदिने स्पष्ट व्यवस्था गरेको स्मरण गराइन्।

रास्वपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनअनुसार पार्टीका कुल सदस्य ५ लाख २३ हजार ४६५ रहेका छन्। तीमध्ये करिब ६.७ प्रतिशत अर्थात् ३५ हजार २५७ जना १८ वर्षभन्दा कम उमेरका रहेको विवरण सार्वजनिक भएपछि यो विषय राजनीतिक बहसको केन्द्र बनेको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दलको सदस्य बन्न नेपाली नागरिक हुनुका साथै १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी, बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई कुनै पनि राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको छ।

यिनै कानुनी प्रावधानको आधारमा कांग्रेसले रास्वपाको सदस्यता वितरण प्रक्रियामाथि प्रश्न उठाएको हो।