उदयपुर, असार १५ – उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित कुमाङ लामाचौरमा गएराति जङ्गली हात्तीको समूह प्रवेश गर्दा ६ परिवारको घरमा क्षति पुगेको छ। हात्तीको आक्रमणबाट घरहरू भत्किनुका साथै खाद्यान्नसमेत नष्ट भएको छ।
प्रहरीका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ तथा कर्कटपाताले छाएका घरहरू हात्तीले भत्काएको हो। हात्ती गाउँमा पस्नेबित्तिकै स्थानीयवासी त्रसित बनेका थिए भने धेरैले घर छाडेर सुरक्षित स्थानमा आश्रय लिनुपरेको थियो।
घटनापछि चौदण्डीगढी नगरपालिकाले प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित बसोबासको व्यवस्था मिलाएको जनाएको छ।
कोशीटप्पु क्षेत्रबाट गाउँतर्फ आएको अनुमान गरिएको हात्तीको समूह हाल लामाचौर र ४५ चोक आसपासको वन क्षेत्रमा रहेको बताइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै गाउँमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
