काठमाडौं, असार १९ – अविरल वर्षासँगै मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानीको गुणस्तरमा समस्या देखिएकाले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने कार्य तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानको पानी सफा भएपछि मात्रै प्रशोधन प्रक्रिया पुनः सुरु गरिनेछ। त्यसपछि पूर्वनिर्धारित तालिकाअनुसार उपत्यकाका विभिन्न क्षेत्रमा खानेपानी वितरण गरिने उनले बताए।
निरन्तर वर्षा जारी रहे पानीको आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने भएकाले उपभोक्तालाई धैर्य गर्न केयुकेएलले आग्रह गरेको छ।
