दैलेख बस दुर्घटना अपडेट: २४ घण्टा बित्दा पनि गाडी र अधिकांश यात्रुको अवस्था अज्ञात


दैलेख बस दुर्घटना अपडेट: २४ घण्टा बित्दा पनि गाडी र अधिकांश यात्रुको अवस्था अज्ञात
  • नवकिरण
  • अषाढ १९, २०८३

दैलेख, असार १९ – कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडामा कर्णाली नदीमा खसेको यात्रुबाहक फोर्स गाडी दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि गाडी फेला पर्न सकेको छैन। गाडीमा कति जना यात्रु सवार थिए भन्ने विवरणसमेत अझै स्पष्ट हुन नसकेको छ।

प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बुलबुले यातायात प्रालिको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोर टोलीसहित ५० भन्दा बढी सुरक्षाकर्मीले बिहीबारदेखि निरन्तर खोजी गरिरहेका छन्। तर नदीमा आएको बाढी, बढ्दो बहाव, धमिलो पानी र भीरालो भू–भागका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

खोजीका क्रममा हालसम्म गाडीका केही सिट र केही मोबाइल फोन मात्रै फेला परेका छन्। भीरमा अड्किएको अवस्थामा एक जनाको शव निकालिएको छ, जसको पहिचान कालिकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवाको रूपमा भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै बेपत्ता गाडी र सम्भावित अन्य यात्रुको खोजीलाई निरन्तरता दिएको छ। यात्रुको वास्तविक संख्या यकिन गर्न विभिन्न चेकपोस्टको अभिलेख र अन्य विवरणसमेत अध्ययन भइरहेको जनाइएको छ।