डोल्पा, असार २१ – डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लगातारको वर्षापछि धुलाखोलामा आएको हिलोयुक्त बाढीले जनधनको क्षति पुर्याएको छ। बाढी घरभित्र पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार बिहान करिब ३ बजे आएको बाढीमा घरभित्र सुतिरहेकी अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक पुरिएकी थिइन्। स्थानीय र सुरक्षाकर्मीले उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने बाँकी तीन जनाको उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ।
मृतकका आफन्त जुनमाया विक र दुर्गे विक घटनापछि तनावका कारण बेहोस भएका छन्। उनीहरू स्वास्थ्य चौकीमा उपचाररत छन्।
प्रारम्भिक विवरणअनुसार बाढीले एउटा घर पूर्ण रूपमा बगाएको छ भने आठ वटा घरमा आंशिक क्षति पुगेको छ। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटेका छन्। थप क्षतिको विवरण संकलन र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
