विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य, गृहमन्त्री गुरुङले दिए निर्देशन


विमानस्थलका अध्यागमन कर्मचारीलाई ढाका टोपी अनिवार्य, गृहमन्त्री गुरुङले दिए निर्देशन
  • नवकिरण
  • अषाढ २१, २०८३

काठमाडौं, असार २१ – गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा उनले नेपाली मौलिकता र राष्ट्रिय पहिचानलाई झल्काउने पोसाकको प्रयोगमा जोड दिएका हुन्।

गृहमन्त्री गुरुङले नेपाल आउने विदेशी नागरिकले सबैभन्दा पहिले अध्यागमन कार्यालयसँगै सम्पर्क गर्ने भएकाले त्यहाँ कार्यरत कर्मचारीको पोसाक, व्यवहार र सेवा नै देशको पहिलो छाप बन्ने उल्लेख गरे। त्यसैले अनुशासित, मर्यादित र सेवाग्राहीमैत्री सेवासँगै नेपाली संस्कृतिको पहिचान झल्किने गरी ढाका टोपी लगाउने व्यवस्था लागू गर्न निर्देशन दिएको स्रोतले जनाएको छ।

सरकारले लागू गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका–२०८१’ ले पनि सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीलाई उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट उत्पादित पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, सार्वजनिक निकायबाट प्रदान गरिने उपहारमा समेत स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।