काठमाडौं, असार २१ – नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकका संवैधानिक अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित नेकपाको उपत्यका प्रदेश समितिको कार्यक्रममा उनले सरकारले सुशासन र विकासभन्दा अधिकार संकुचनतर्फ ध्यान दिएको दाबी गरे। यस्तो अवस्थाको प्रतिवाद गर्न सबै परिवर्तनकारी शक्तिहरू सचेत र एकजुट हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
प्रचण्डले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी तथा ट्रेड युनियनका अधिकार कमजोर बनाउने र राष्ट्रिय सीमाजस्ता संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको आरोप लगाए। यी विषयमा संसदमा थप सशक्त रूपमा आवाज उठाउने तयारी रहेको पनि उनले बताए।
आफ्नो नेतृत्वकालको समीक्षा गर्दै प्रचण्डले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई पर्याप्त प्राथमिकता दिन नसक्नु कमजोरी भएको स्वीकार गरे। तीनपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने र अब ती गल्ती नदोहोऱ्याउने प्रतिबद्धता व्यक्त गरे।
