युवतीको साहसले पक्राउ परे अश्लील हर्कत आरोपित सरकारी कर्मचारी


युवतीको साहसले पक्राउ परे अश्लील हर्कत आरोपित सरकारी कर्मचारी
  • नवकिरण
  • अषाढ २२, २०८३

ललितपुर, असार २२ – ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीमाथि सार्वजनिक स्थानमा अश्लील व्यवहार गरेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा घटना सम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै आरोपितलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने व्यक्ति बैतडीका सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ। उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी भएको खुलेको छ। घटनापछि पीडित युवतीले भिडियोसहित प्रहरीमा उजुरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

पीडितका अनुसार उनी एक्लै हिँडिरहेका बेला आरोपितले अशोभनीय व्यवहार गरेका थिए। त्यसपछि उनले मोबाइलबाट भिडियो खिच्दै आरोपितलाई पछ्याएकी थिइन्। स्थानीयको सहयोगमा उनलाई नियन्त्रणमा लिएपछि प्रहरीले जिम्मा लिएको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरले घटनाको पुष्टि गर्दै सिसिटिभी फुटेज र अन्य प्रमाण सङ्कलन गरी अनुसन्धान भइरहेको जनाएको छ। घटनाको वास्तविकता र अन्य पक्षबारे पनि प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। सार्वजनिक स्थानमा हुने यस्ता दुर्व्यवहारविरुद्ध तत्काल सूचना दिन र पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको जनाएको छ।